विकसित राष्ट्र बन्न बंगलादेशले नेपालसँग ५ हजार मेगावाट विद्युत् खरिद गर्दै

होमल्याण्ड खबर

२०७५ श्रावण २७ गते, आईतवार १०:४२ मा प्रकाशित

नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममाझ दुई देशबीच लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदान सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन तथा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ ।
दुई देशको विद्युत् विकास सम्बन्धि भएको उक्त समझदारीपत्रमा द्विपक्षिय सहकार्यको सुरुवात गरिने उल्लेख गरिएको छ । समझदारीपत्र अनुसार दुई देशबीच विद्यमान परम्परागत मित्रतालाई द्विपक्षिय आर्थिक तथा व्यापारिक विकासमा सहकार्यमार्फत् अभिवृद्धि गरिनेछ ।
यसका लागि विद्युत् उत्पादन गर्ने, ग्रिड केनन्टिभिटि, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युतको विकासबाट हुने पारस्पारिक हितलाई क्षेत्रीय हितमा रुपान्तरण गरिनेछ । त्यसैगरी दुवै देशका उद्यमिलाई प्रात्साहन गर्ने तथा दक्षिण एसियामा रहेको जलविद्युत् विकासको अथाह सम्भावना तथा सो सम्भावनालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्यबाट आर्थिक विकास हासिल गर्न सकिने समझदारीपत्रमा उल्लेख छ ।
दुई देशबीचको यो सहकार्यलाई प्रवद्र्धन गर्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदल गठन गर्ने बताइएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै ऊर्जामन्त्री पुनले बंगलादेश सरकार नेपालबाट तत्काल ५ सय मेगावाट विद्युत् खरिदका लागि समेत तयार भएको जानकारी दिए ।
बंगलादेशले यसअघि नै नेपालबाट करीब ५ हजार मेगावाटसम्म विद्युत् खरिद गर्न तयार रहेको बताउँदै आएको थियो । सोही कार्यमा बोल्दै बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गरेका थिए । उनले भारत हुँदै बंगलादेश ऊर्जा भित्र्याउने विषयलाई आगामी बिमस्टेक बैठकमा पनि उठाउने बताए ।
कार्यक्रममा उनले बंगलादेशले देशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोनन्ति गर्ने लक्ष्य राखेको जानकारी दिए । त्यसका लागि बंगलादेशका लागि करीब ६० हजार मेगावाट विद्युत् जरुरी रहेको उनले बताए ।