स्वदेशी उधोग बन्द गर्ने बाटोमा सरकार

होमल्याण्ड खबर

२०७५ भाद्र ४ गते, सोमबार १८:११ मा प्रकाशित

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले विज्ञप्तिनै जारी गरेर चिया उत्पादन क्षेत्रका जटिलता र सरकारले गरेको अन्याय बारे प्रष्ट्याएको छ ।
उसले भनेको छ, ‘श्रम ऐन २०७४ लागू भएदेखि नै सघंले श्रम मन्त्रालय, कृषि मन्त्रालय, अर्थमन्त्रालय तथा प्रधानमन्त्रीलाई समेत चिया उद्योगहरुलाई अन्य उद्योग सरह व्यवहार भएमा उद्योग नै बन्द हुन सक्ने र त्यसबाट लगानी कर्ताहरुको अरर्बौँ लगानी डुब्नुका अतिरिक्त चिया उद्योगमा आश्रित श्रमिक तथा मजदुरहरुको रोजगारी पनि बन्द हुने परिस्थतिको श्रृजना हुने भएकाले यो समस्यालाई गम्भीर रुपमा लिन पटक–पटक अनुरोध गरिएको छ ।’ तर, सरकारले बजेटमा स्वदेशी उद्योग तथा उत्पादनलाई बढावा दिने र कृषिजन्य उद्योगलाई बढी प्राथमिकता दिने भनेपनि अहिले ठिक उल्टो व्यवहार गरेको संघको आरोप छ ।
श्रम मन्त्रालयले संघको शालीन अनुरोधलाई उपेक्षा गर्दै एकतर्फी ढंगबाट ल्याएको श्रम ऐनले वृद्धि भएका सुविधाहरु र हाल तोकिएको पारिश्रमिक लागू गर्ने नीति लिएका कारण चिया उद्योगलाई ८० प्रतिशत भन्दा बढी आर्थिक भार थपेको पनि संघले जनाएको छ ।
संघले सुरुवाती चरणमै रहेका चिया उद्योगहरुको क्षमता र धरातलीय यथार्थलाई मनन् नगरी अप्रत्याशीत र एक तर्फी ढंगले वृद्धि गरिएको पारिश्रमिक र सुविधाका कारण नेपाली चियाले विदेशी चियासँग प्रतिस्पर्धा गर्न नसक्ने तथा चिया बगानहरु सञ्चालन हुनै नसक्ने जिकिर गरेको छ ।
सरकारको निर्णय कार्यान्वयन नै गर्न नसकिने भएकाले वृद्धि भएको ज्याला र सुविधाहरु चिया क्षेत्रले धान्ने नसक्ने संघको भनाई छ । संघले श्रम ऐन २०७४ चिया क्षेत्रको पक्षमा नरहेकाले श्रम ऐन २०५० को चिया श्रम नियमावली पुनःवहालीको माग समेत गरेको छ । उसले छिमेकी चिया उत्पादक राष्ट्रहरुले तोकेको पारिश्रमिक तथा व्यवहारिकतालाई हेर्नु पर्ने भनेको छ ।
श्रम ऐन २०४८ ले चिया उद्योगलाई अन्य उद्योगहरु भन्दा छुट्टै उद्योगमा वर्गिकरण गरेकोले चिया उत्पादन आश लाग्दो भएको र विदेशबाट हुने आयातलाई प्रतिस्थापन गरेर उत्पादनको ४५ प्रतिशत निर्यात भईरहेको कुरा नभुल्न पनि संघले सरकारलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहमा चिया उद्योग संघ १० नम्बरमै पर्छ ।