एन्फा निर्णय: कोजीलाई हटाउदै कार्यवहाक प्रशिक्षकमा बालगोपाल नियुक्त

होमल्याण्ड खबर

२०७५ भाद्र ७ गते, बिहीबार ११:०१ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बुधबार बसेको एन्फाको आपतकालिन बैठकले कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गर्दै कार्यवहाक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

महर्जन राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा काम गर्दै आएका थिए । अवैध रुपमा नेपाल बस्दै आएका कोजीलाई अध्यागमन विभागले एक बर्षसम्म नेपाल छिर्न नपाउने गरि प्रतिबन्ध लगाएपछि एन्फाले आसन्न साफ फुटबललाई लक्षित गर्दै महर्जनलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि आसन्न साफ फुटबलको नेतृत्व कसले लिने भन्ने बिषयमा अन्यौलता सिर्जना भएको थियो । कोजीलाई श्रम स्विकृति दिलाएर पुन नेपाल ल्याउने प्रयास असफल भएपछि एन्फाले कोजीको विकल्पमा निर्णय गरेको हो ।

महर्जनले अब बंगलादेशमा हुन गईरहेको साफ फुटबलमा कार्यवहाक मुख्य प्रशिक्षकको रुपमा नेपाली टिमको नेतृत्व गर्नेछन् । एशियाडको खराब नतिजासंगै मुख्य प्रशिक्षक परिवर्तन गर्न एन्फालाई दबाब परेको थियो ।

एन्फाले राष्ट्रिय फुटबल टिम समाल्ने गरि २०७२ साल फागुनमा मुख्य प्रशिक्षकमा कोजीलाई दुई बर्षका लागि नियुक्त गरेको थियो । साफ प्रतियोगिता जिताउने जिम्मेवारी सहित एन्फाले गत फागुनमा कोजीसंग सम्झौता नविकरण गरेको थियो ।

कोजीको अनुबन्धन आगामी नोभेम्बरमा सकिदैछ । कोजीको नेतृत्वमा नेपालले सोलिडारिटी कपको उपाधि उचालेको थियो ।