९ मंसिर २०८१, आईतवार
खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने बुढीराप्ती खोला माथि पुरानो पुल भत्किएको ३० वर्षपछि नयाँ पुल निर्माण भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले पाँच करोड ५० लाख रुपियाँ लागतमा सो नयाँ पक्की पुल निर्माण गरेको हो ।
“पुल भत्किएको ३० वर्षपछि भएपनि पक्की पुल बनेको छ” स्थानिय कमला श्रेष्ठले भने, “पुल नहुँदा यहाँका वासिन्दा वर्षा याममा ज्यान हत्केलामा राखेर वारपार गर्नुपर्ने वाध्यता थियो ।”
२०३६ साल अघिसम्म महेन्द्र राजमार्गको रुपमा प्रयोग भएको पर्सा हुँदै रत्ननगर आउने सडकमा नयाँ पुल निर्माण भएको छ । ३६ सालमा राजमार्ग उत्तरतर्फ सरेपछि सो सडक ओझेलमा परेको थियो । सडक ओझेलमा परेपनि रत्ननगर र खैरहनीका सर्वसाधरणदेखि विद्यार्थीसम्मको यो सडकमा निकै चाप हुनेगर्छ ।
२०२९ सालमा निर्माण भएको काठेपुल २०४५ सालमा भत्किएपछि सो क्षेत्रमा नागरिकलाई आवतजावतमा सास्ती हुँदैआएको थियो । लामो समयपछि पुल बनेसँगै स्थानियहरु खुसी भएका छन् । स्थानिय वासिन्दा रामप्रसाद शर्माले अब खोलाको जोखिम नभएको बताए ।
२०७४ चैत महिनाबाटै सञ्चालनमा आएको एकसय मिटर लामो पुलको निर्माणको केही काम भने बाँकी छ । पुल निर्माणको काम सकिएसँगै उद्घाटनको तयारी डिभिजन सडक कार्यालयले चितवनले गरेको छ ।
स्थानिय सयपत्री टोल विकास संस्था रत्ननगर ३ का अध्यक्ष सञ्जयकुमार सिंहका अनुसार पुल बनेसँगै खैरहनीको कुमरोज, बुढौली, कठार, शान्तिबजारका स्थानीय वासीन्दालाई टाँडी हुदै भरतपुर ओहोर दोहोर गर्न सहज भएको छ ।