भारतद्वारा हङकङ २६ रनले पराजित

होमल्याण्ड खबर

२०७५ आश्विन ३ गते, बुधबार १०:२४ मा प्रकाशित

भारतले एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा हङकङलाई २६ रनले हराएर भारतले सुखद सुरुवात गरेको हो ।

दुबईमा भारतले दिएको २८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २५९ रन बनाउन सक्यो । तर, टेष्ट राष्ट्र भारतविरुद्ध हङकङले बहादुरी प्रदर्शन गरेको थियो ।

हङकङका लागि निजाकाट खानले ९२ तथा अन्सुमन रथले ७३ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । भारतविरुद्ध विस्फोटक ब्याटिङ गरेका दुवैले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरेका थिए । खानले ४५ बलमा अर्धशतक बनाएका थिए भने रथले अर्धशतक बनाउन ५७ बल खेलेका थिए ।

तर, खान र रथ आउट भएपछि हङकङका अन्य ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न सकेनन् । उसका इशान खानले २२ रन जोड्दा बाबर हायतले १८ रन जोडे । भारतका खालील अहमेद र युजभेन्द्र चाहलले ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २८५ रन जोडेको थियो । भारतका लागि शिखर धवनले १२७ रनको शतकीय इनिङस खेले । यस्तै अम्बाती रायडुले ६० रनको योगदान दिए । हङकङका किनचित साहले ३ तथा इशान खानले २ विकेट लिए ।

जितसंगै समूह ‘ए’ को भारतले महत्वपूर्ण २ अंक जोडेको छ । र, भारतले एसिया कपको सुपर चारमा स्थान पक्का गरेको छ । लगातार दुई खेल गुमाएको हङकङ भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा हङकङ पाकिस्तानसंग पराजित भएको थियो । एजेन्सी ।