९ मंसिर २०८१, आईतवार
नेपाल एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह ’ई’ को अन्तिम खेलमा मलेसियासँग खेल्दैछ । दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा मलेशियाविरुद्ध मैदान उत्रिन लागेको हो ।
हलचोकस्थित सशस्त्रको मैदानमा खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । अहिलेसम्म जितविहीन दुबै टोली एक खेल जित्दै यात्रा समाप्त गर्ने लक्ष्यमा छन् । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–० र दोस्रो खेलमा म्यानमारसँग ११–१ फराकिलो गोल अन्तरले पराजित भएको थियो ।
मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो । समुह ई बाट शीर्षस्थानमा रहेका फिलिपिन्स र म्यानमार अघिल्लो चरणका लागि छनोट भइसकेका छन् । समूह बिजेताका लागि ११ बजे हलचोकमा फिलिपिन्स र म्यानमारबीच खेल हुँदैछ । फिलिपिन्स र म्यानमार समूहको शीर्ष दुईमा रहँदै अर्को बर्ष थाइल्यान्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् ।