घाँस बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

होमल्याण्ड खबर

२०७५ आश्विन २८ गते, आईतवार ११:१८ मा प्रकाशित

सल्यानका कृषक पछिल्लो समय घाँसखेतीतर्फ आर्कषित भएका छन् । परम्परागत रूपमा गरिने कृषि पेसाभन्दा घाँस खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरू व्यावसायिक घाँस खेतीतर्फ आर्कषित भएका हुन् ।

विगत केही वर्षदेखि घाँसको बीउ बिक्री गर्दै आएका शारदा नगरपालिका–१४ बरलाका घनश्याम भण्डारीले घाँसको बीउ बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । आफ्नो व्यक्तिगत २२ रोपनी जमिनमा घाँस रोपेका भण्डारीले गतवर्ष घाँस बिक्रीबाट १३ लाख र बीउ बिक्रीबाट ८ लाख आम्दानी भएको बताए । उनले घाँसको बीउ उत्पादनबाट छोटो समयमा पनि मनग्य आम्दानी हुने भएपछि आफू व्यावसायिकरूपमै घाँस खेतीमा लागेको बताए ।

घाँसको बीउ उत्पादनबाट मनग्य आम्दानी हुन थालेपछि सिंगो गाउँनै परम्परागत कृषि छाडी घाँस उत्पादनतर्फ आकर्षित भएको उनको भनाइ छ । “गाउँघरमा एकजनाको घरमा कम्तिमा पनि ३-४ वटा बस्तुभाउ छन् तीनलाई घाँस पनि हुन्छ,” उनले भने, “उता बीउ उत्पादनबाट आम्दानी पनि धेरै हुने भएकाले व्यावसायिक रूपमै घाँसको बीउ उत्पादनमा लागेका हौं ।”

सल्यानमा हाल नेपियर, मुलाथो, पासपालम, बदामेलगायतका आधादर्जन बढी घाँसका जातको बीउ लगाउने गरिएको छ । घाँस खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले शारदा घाँस विकास समिति गठन गरेका छन् । उनीहरूले आफ्नो आम्दानीको मुख्य स्रोत अहिले घाँस उत्पादनलाई बनाएका छन् ।

४ वर्षदेखि व्यावसायिक घाँस उत्पादन गर्दै आएको समितिले उत्पादन गरेको घाँस बिक्रीका लागि कुनै समस्या नरहेको अर्का किसान लुब्धकृष्ण भट्टराईले बताए । “बजारको मागलाई हेर्ने हो भने हामीले केही हिस्सा मात्र उपलब्ध गराउन सकेका छौं,” उनले भने । गतवर्ष जिल्लाबाहिर ३० क्विन्टल घाँसको बीउ निकासी गरेका किसान यसवर्ष त्योभन्दा बढी बाहिर निकासी गर्ने सोचमा छन् ।
झन्डै १ सय २० रोपनी क्षेत्रफलमा घाँस बीउ उत्पादन गर्दै आएका किसानले सरदर ४० रुपैयाँ किलोसम्म बिक्री गर्दै आएका छन् । किसानले उत्पादन गरेको घाँसको बीउ रुकुम, जाजरकोट, दाङ, नेपालगन्ज र झापासम्म जाने गरेको समितिले जनाएको छ ।