१० मंसिर २०८१, सोमबार
अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि समान्य घरायसी कार्यक्रमसम्म यसको प्रयोग संस्कृतिका रूपमा विकसित हुँदै गएको छ । यस्ता खादा नेपालमा चीनबाट आयात हुने गरेको छ ।
पछिल्लो समयमा सङ्घसंस्थाका औपचारिक कार्यक्रम, सम्मान तथा स्वागत समारोह, पारिवारिक उत्सवलगायत अन्य सुखद अवसरमा सम्मानका लागि व्यक्तिलाई खादा लगाइदिने संस्कृति नै बनेको छ ।
यस्ता खादाको प्रयोग प्रायः एकचोटी मात्र हुने र त्यसपछि खासै अन्य प्रयोगमा पनि आउँदैन् । प्रयोग भइसकेपछि यस्ता खादा अन्य फोहरमै मिसाउने गरिन्छ । तर नकुहिने र पुनःप्रयोग पनि नहुने भएकाले यस्ता खादा प्रदुषणको स्रोत हुने गरेको वातावरणविद्हरूको भनाई छ ।
नसड्ने र नगल्ने भएकाले पोलिष्टर खादाले पनि प्रदुषण बढाउन प्लाष्टिकको जस्तै योगदान गर्ने स्वच्छ ऊर्जा नेपालका अध्यक्ष एवं वातावरणविद् भूषण तुलाधरको भनाइ छ । स्वच्छ वातावरणका लागि यस्ता खादाको प्रयोग नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ ।
मुलुकभर लाखौँको सङ्ख्यामा यस्ता खादाको प्रयोग हुने गरेको छ। लुगा–कपडाका मात्र नभई अन्य पसलमा पनि पोलिष्टरका खादाको बिक्री हुने गरेको पाइन्छ । नेपालमा वार्षिक कति परिमाणको खादा आयात हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारसँग नभए पनि लाखौँको सङ्ख्यामा आयात हुने गरेको अनुमान यस क्षेत्रका व्यवसायीको छ ।
पोलिष्टर खादाको व्यापार वर्षेनी लाखौँको सङ्ख्यामा हुने गरेको काठमाडौँको नयाँ सडकका थोक व्यवसायी शङ्कर महर्जनको अनुमान छ । यस्ता खादाको बजार मूल्य औषतमा प्रतिगोटा रु २० देखि रु ४० सम्म पर्ने उनले जानकारी दिए । नगल्ने र जलाउँदा पनि हानिकारक ग्यास निस्कने पोलिष्टरका खादा प्रदुषण नियन्त्रणमा चुनौती बन्दै गएको छ ।