९ मंसिर २०८१, आईतवार
पीपीएलको जारी खेलमा विराटनगरलाई धनगढीले १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धनगढीले २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर १८२ रन बनाएको हो । सौरभ खनालले १३ बलको सामना गर्दै ४१ रन बनाए । उनले खेलमा ६ छक्का र २ चौका प्रहार गरे । त्यस्तै, धनगढीका पिटर ट्रेगोले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ३८ बलको सामना गर्दै ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन बनाए ।
टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले सुरुआत राम्रो गर्न नसके पनि तेस्रो नम्बरमा मैदान छिरेका इग्ल्यान्डका पिटर ट्रेगो र पाँचौं नम्बरमा मैदान छिरेका दीपेन्द्रसिंह ऐरीबीचको साझेदारी राम्रो रह्यो । कप्तान दीपेन्द्र र पिटरले ६० रनका लागि साझेदारी गरे । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाएर आउट भए भने धनगढीका सन्दीप जोराले १२ रन बनाए ।
त्यस्तै, टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिलो फिल्डिङ गर्ने निर्णय गरेका थिए । धनगढीलाई १८२ रनमा रोक्न जितेन्द्र मुखियाले ४ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, किसन महतो, सुनिल धमला, महोमद जाइद आलमले समान एक—एक विकेट लिए ।