९ मंसिर २०८१, आईतवार
बुटवल ब्लास्टर्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा घरेलु टोली तथा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई ३३ रनले हराएर सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले लगातार दोस्रो जित निकालेको हो ।
यसअघि पहिलो खेलमा बुटवलले चितवन राइनोजलाई हराएको थियो । जितसंगै शीर्ष स्थानमा रहेको बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको पोखराको यो पहिलो हार हो । पोखराको २ अंक छ ।
पोखरा रंगशालामा बुटवलले दिएको १५१ रनको लक्ष्य पछ्याएको पोखराले पुरै २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो । पोखराका लागि आसिफ शेखले २० रन जोड्दा कप्तान शरद भेषवाकरले १९ रन बनाए । त्यस्तै रबी इन्दर सिंह र मोहमद नाभिदले समान ११/११ रन जोड्दा राशिद खानले १० रन बनाए ।
पोखरालाई सस्तैमा समेट्न बुटवलका सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५० रन जोडेको थियो । घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेको बुटवलका लागि भिम सार्कीले ५४ रनको अर्धशतकीय इनिङस खेले । उनले ४६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै रोहन मुस्तफाले ४५ रन जोड्दा कप्तान सोमपाल कामीले २२ रन जोडे । सिद्दान्त लोहनी १३ रनमा आउट भए । पोखराका मोहमद नाभिदले ३ विकेट लिए ।
खेलमा बुटवलका म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत सोमबार विराटनगर र काठमाडौँ तथा चितवन र पोखराबीच खेल हुनेछ ।