८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्दै उत्पादन मूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने जनाएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै उत्पादनमूलक क्षेत्रलाई राहत दिने गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको हो।
कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोगबाट निश्चित मानव/मेशिनरीको प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योगलाई उत्पादन मूलक उद्योगको रुपमा व्याख्या गरिएको छ।
बैंकले कार्यान्वयनमा रहेको माग दर्शनको बुँदा न. ३.१ संशोधन भएको जानकारी दिँदै उत्पादन मूलक बाहेक समग्र बैकिङ प्रणालीबाट १ करोड रुपैयाँसम्म चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा भने उल्लेखित नियम लागू नहुने जनाएको छ।
यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्ने जनाइएको छ। तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्नेछ।
यसैगरी उत्पादन मूलक क्षेत्रका लागि तीन करोड रुपैयाँभन्दा माथि ४ करोड रुपैयाँसम्मका कर्जामा चालु कर्जा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतितले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम हुने जनाइएको छ।
यसैगरी बैंकले अन्य धेरै मापदण्डहरु संशोधन गरेको छ।