पीपीएल क्रिकेट : विराटनगरको लगातार तेस्रो हार

होमल्याण्ड खबर

२०७५ कार्तिक १२ गते, सोमबार १२:३० मा प्रकाशित

हुलास काठमाडौं रोयल्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटन्सलाई ५ विकेटले हराएर ज्ञानेन्द्र मल्लको काठमाडौंले लगातार दोस्रो जित निकालेको हो ।

पोखरा रंगशालामा विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा पुरा गर्यो । विराटनगरको यो लगातार तेस्रो हार हो ।

काठमाडौंका लागि गौरव तोमारले ६६ रनको अर्धशतकीय इनिङस खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको विराटनगरका लागि मोहमद जायदले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै सुनील धमलाले ३० रन जोडे । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए ।

त्यस्तै राजेश पुलामी मगरले ३० रन जोडे । काठमाडौका लागि शुसन भारी, बसन्त  रेग्मी र गौरव तोमारले २/२ विकेट लिए ।