९ मंसिर २०८१, आईतवार
रूपन्देहीको मोतिपुर औधोगिक क्षेत्रमा पूर्वाधार निर्माणका काम पूरा गरी पाँच वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने गरी परियोजना कार्यालय स्थापना गरिएको छ ।
सरकारले २०७२ सालमा औधोगिक क्षेत्र घोषणा गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको मोतिपुर औधोगिक क्षेत्रको पूर्वाधार विकास र सञ्चालनको जिम्मेवारी पाएको औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतिपुरको रानीगञ्जमा परियोजना कार्यालय स्थापना गरेको हो ।
कार्यालयको व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले उद्घाटन गरे । औधोगिक क्षेत्र व्यस्थापन लिमिटेडले अहिले परियोजना प्रमुखसहित चार जना कर्मचारी खटाएको छ । खटिएका कर्मचारीले औधोगिक क्षेत्रको चार किल्ला बुझ्नेदेखि विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख भएका महत्वपूर्ण विषयका सम्बन्धमा आफैँले अध्ययन गरिरहेको परियोजना प्रमुख इञ्जिनियर अशोक पौडेलले जानकारी दिए । ८१३ बिघा क्षेत्रफलमा बन्न लागेको यो औधोगिक क्षेत्रको पूर्वाधार विकासमा आठ अर्ब रुपियाँ लाग्ने अनुमान छ ।
यो औधोगिक क्षेत्रमा अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि प्रक्रिया अगाडि बढेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी उधोग स्थापनाका लागि असारसम्ममा प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको छ ।
गत साउनमा देशभरका औधोगिक क्षेत्रमा उधोगीसँग प्रस्ताव आह्वान गर्दा यस क्षेत्रका ४५० उधोगीले प्रस्ताव पेस गरेका छन् । मोतिपुर औद्योगिक क्षेत्रको ८१३ बिघा जग्गालाई तीन क्षेत्रमा विभाजन गरी काम अगाडि बढाइएको छ । तिलोत्तमा क्षेत्रलाई ‘सेक्टर ए’ मा राखिएको छ । तिलोत्तमा क्षेत्रमा १३० प्लट छ । त्यस्तै मोतिपुर क्षेत्रलाई ‘सेक्टर बी’ कायम गरिएको छ । मोतिपुर क्षेत्रमा ४०५ बिघा जग्गा छ । जसमा औधोगिक प्लटमा ११७ दशमलव २३ बिघामा २६२ प्लट छन् । बस्ती व्यवस्थापनलाई १४३ दशमलव २६ बिघा क्षेत्रफल छुट्टयाइएको छ । त्यस्तै सडक, खेल मैदान, ढल, प्रशासनिक भवनलगायतलाई ६१ दशमलव ६६ बिघा छुट्टयाइएको छ । ग्रिनरी र बफरजोनका लागि ३४ दशमलव २३ बिघा जग्गा छुट्टयाइएको छ ।