धनगढीद्वारा पोखरा पराजित

होमल्याण्ड खबर

२०७५ कार्तिक १६ गते, शुक्रबार १३:०७ मा प्रकाशित

एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली पोखरा पल्टनलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा दिपेन्द्र सिंह ऐरीको धनगढीले शरद भेषवाकरको पोखरालाई २ विकेटले हराएको हो । पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।

धनगढीका लागि पिटर टेग्रोले ५३ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै सुबेन्धु पाण्डेले २२ रन बनाए ।

पोखराका राशिद खानले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ललित राजवंशी र बिक्रम भुसालले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । खराब सुरुवात गरेको पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन जोड्दा रबि इन्दर सिंह २८ रन जोडे ।

यस्तै आसिफ शेखले २३, कप्तान शरद भेषवाकरले १४ तथा मोहमद नाभिदले ११ रन जोडे । पोखराका राशिद खान १५ रनमा अविजित रहदा बिक्रम भुसाल ११ रनमा अविजित रहे ।

पोखरालाई सस्तैमा रोक्न कमल सिंह ऐरीले १ मेडनसहित ४ विकेट लिए । उनले मात्र २३ रन खर्चिए ।

जितसंगै धनगढीले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । धनगढीले ५ खेलबाट ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा छ । पराजित पोखरा ४ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर खेल्नेछ ।