४ मंसिर २०८१, मंगलवार
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी-व्यापारीलाई गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्।
“ नेपालमा लगानीका अवसर बढदै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्दछु”, उनले भने।
उनले आर्थिक विकासको तिब्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तराष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा समेत व्यक्त गरे।
“ नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु”, उनले भने।
राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।
“आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उनले भने।
उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार रहेको बताए। “तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उनले भने।
राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला रहेको जनाए। उनले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए। साथै, उनले ३७ औँ क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुने बताए ।