९ मंसिर २०८१, आईतवार
सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि एलिमिनेटर (प्ले अफ) खेलमा अहिले चितवन राइनोज र हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा रंगशालामा ज्ञानेन्द्र मल्लको काठमाडौंले पारस खड्काको चितवनलाई जितका लागि ९५ रनको समान्य लक्ष्य दिएको छ । चितवनले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
चितवनविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा अलआउट हुँदै ९४ रनमा समेटियो । यो जारी प्रतियोगिताकै सर्वाधिक कम रनको लक्ष्य हो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३० रन जोडे । त्यस्तै काठमाडौंका जय किशन कोल्शावालाले २५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न चितवनका लागि सन्नी पटेलले ३ विकेट लिए । यस्तै स्मित पटेल र भुवन कार्कीले २/२ विकेट लिए ।
आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन् ।
चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६/६ अंक जोडेका थिए । तर, नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको थियो ।
विजेताले मंगलबार हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनसंग खेल्नेछ । पोखरा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा पुगिसकेको छ ।