पीपीएल : फाईनलमा पोखराको प्रतिद्घन्दी चितवन, काठमाडौं बाहिरियो

होमल्याण्ड खबर

२०७५ कार्तिक १८ गते, आईतवार १४:४८ मा प्रकाशित

पारस खड्काको चितवन राइनोज सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार फाइनल प्रवेशको लागि भएको एलिमिनेटर (प्ले अफ) खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले हराएर चितवन उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालामा काठमाडौंले दिएको ९५ रनको समान्य लक्ष्य चितवनले १८ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
चितवनका लागि स्मित पटेलले ३८ रन जोड्दा हरि शंकर साहले २६ रन जोडे । आरिफ शेख २० रनमा अविजित रहे । यस्तै कप्तान पारस खड्का २ रनमा आउट हुँदा अनिल कुमार साह १ रनमा आउट भए ।

काठमाडौका सुशन भारीले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ३ बलमा अलआउट हुँदै ९४ रन जोडेको थियो । काठमाडौंले दिएको लक्ष्य प्रतियोगिताकै सर्वाधिक कम रनको लक्ष्य हो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्र्वािधक ३० रन जोडे । त्यस्तै काठमाडौंका जय किशन कोल्शावालाले २५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न चितवनका लागि सन्नी पटेलले ३ विकेट लिए । यस्तै स्मित पटेल र भुवन कार्कीले २र२ विकेट लिए ।
यो जितसंगै चितवन लगातार चौथो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सुरुवाती २ खेल लगातार गुमाएको चितवन त्यसपछिको लगातार खेलमा अपराजित रहेको छ । काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब चितवनले उपाधिका लागि घरेलु टोली पोखरा पल्टनसंग मंगलबार खेल्नेछ । पोखरा लिग चरणमा शीर्ष स्थानमा रहदै फाइनल पुगिसकेको छ ।

चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र दोस्रो तथा तेस्रो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको छ ।

प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।