८ मंसिर २०८१, शनिबार
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएकाे छ। नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रकाे एनसेलले प्रतिवद्धतासहितको जवाफ पठाएको हो ।
शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ। बेलायतको कम्पनीसँग भए गरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।
पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ। प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ ।
पत्रमा कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद विक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बिच शेयर खरिद विक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने कम्पनीको भनाई छ ।
एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरूक र कटिबद्ध रहेको बताएको छ ।