राज्य व्यवस्था समितिमा पुगेर प्रधानमन्त्रीले भने- एनसेलकाे सेयर खरिद बिक्रीमा शंका छ

होमल्याण्ड खबर

२०८० पुष ३ गते, मंगलवार १२:५९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद विक्री प्रकरणमा सरकार गम्भीर रहेको बताएका छन्। मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए।

उनले खरिद विक्री आफू दुबइकाे कोप सम्मेलनमा रहेको बेला भएको बताए।

उनले भने, ‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए। मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्‍यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु । योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए। यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ ।’

एनसेलको सेयर खरिद–बिक्रीमा शंका लागेकोले छानबिन गरिएको प्रधानमन्त्रीले बताए। दोषी भए कारबाही हुने उनकाे भनाइ छ ।