११ मंसिर २०८१, मंगलवार
नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीका कारणले भन्दा पनि अन्य कारणले निर्माण क्षेत्रमा सोचेअनुसार काम हुन नसकेको बताएको छ ।
महासंघको २०औं साधारणसभा एवं ११औं अधिवेशनले गरेका ३५ बुँदे निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले पर्याप्त बजेट, भुक्तानी तथा सरकारी निकायबीचको समन्वय अभावमा निर्माण क्षेत्र समृद्ध हुन नसकेको बताए । आफूहरूसँगको भेटमा नै मन्त्रीहरूले अब पर्याप्त बजेट छुट्टयाएर मात्र ठेक्का प्रक्रिया सुरु गर्ने जानकारी दिएको अध्यक्ष सिंहले बताए । स्थानीय निकायबीचको काम, कर्तव्य र अधिकार प्रष्ट नहुँदा व्यवसायीको ठूलो भुक्तानी रोकिएको सिंहले जानकारी दिए । सार्वजनिक खरिद ऐनमा समेत समस्या रहेका कारण सबै व्यवसायीले काम नपाएको भन्दै महासंघ व्यवसायीमैत्री ऐनको पक्षमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले देशभरका व्यवसायीको वृद्धि विकासका लागि महासंघको नयाँ नेतृत्व क्रियाशील रहेको बताए । उपमहासचिव तथा प्रवक्ता टंक चौलागाईंले निर्माण क्षेत्र समृद्ध भएमात्र मुलुक समृद्ध हुने बताए । यसैबीच महासंघले व्यवसायीलाई पेशाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति कडा आपत्ति जनाएको छ । गल्ती गरेको खण्डमा व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन विगतका ऐन कानुन नै पर्याप्त रहेको महासंघको भनाइ छ ।
महासंघले हाल समयमा निर्माणकार्य सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीले आफ्नो क्षमताभन्दा बढी काम लिनु हो भन्दै निर्माण व्यवसायीको क्षमताअनुसार मात्र काम उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरेको छ । सबै साना निर्माण व्यवसायीलाई समेत सहज रूपमा बोलपत्रमा सहभागी हुन पाउने वातावरण बनाइदिन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । हाल सार्वजनिक खरिद ऐनको दफा १० मा निर्माण व्यवसायी ऐनले व्यवस्था गरेको वर्गलाई बोलपत्रमा सहभागी हुँदा खारेज गरेको देखिएकोले त्यसको सट्टा टर्न ओभरको आधारमा वर्ग कायम गरिदिने व्यवस्थाको लागि महासंघले आग्रह गरेको छ ।