६ बैशाख २०८२, शनिबार
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाइने भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् । यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु, पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख टोकराज पान्डेले अब यात्रुले आफ्नो पहिचान खुलाएपछि इन्टरनेट सेवा र फोन सेवा उपभोग गर्ने सक्ने बताए । उनले भने, ‘यसभन्दा पहिले यात्रुले भन्सारबाट बाहिर गएपछि मात्रै फोन र इन्टरनेट खोजेर प्रयोग गर्नु पर्ने बाध्यता थियो । तर, अब यो सेवा भन्सारमा नै पाउने छन् ।’