सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ : कप्तान निरु

होमल्याण्ड खबर

२०७५ कार्तिक २८ गते, बुधबार ११:१८ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान निरु थापाले टिमको उत्कृष्ट प्रदर्शनले ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्न सफल भएको बताएकी छिन् ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमारमा सम्पन्न एसिया छनोटको समूह ‘सी’ बाट नेपालले मंगलबार दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाल छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा पुगेको थियो । यस समूहबाट म्यानमार विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् ।
‘हामीले जति सोचेको थियौं । त्यो भन्दा धेरै राम्रो प्रर्दशन गर्न सफल रह्यौ । त्यसैले दोस्रो चरणको यात्रा सफल भयो ।’ खेलपाटीसंग कुरा गर्दै कप्तान निरुले भनिन् ।

म्यानमार र भारत जस्ता ठुला टिम रहेको छनोटमा नेपालले खेलेका तीनै खेल बराबरी खेलेको थियो । र, छनोटमा पहिलो पटक सहभागीता जनाएको नेपालले पहिलो सहभागीतामै ठुलो उपलब्धी हात पार्न सफल भएको हो ।

पहिलो खेलमा नेपालले चिरपरिचित भारतसंग १–१ को बराबरी खेलेको थियो । नेपालले दोस्रो खेलमा समूहकै बलियो टोली म्यानमारसंग पनि उत्कृष्ट खेल पस्कदै १–१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसंग पनि १–१ गोलको बराबरी खेलेका थिए ।

कप्तान निरुले नेपालको दोस्रो चरणको यात्रामा प्रशिक्षक हरि खड्काको रणनीति पनि सफल भएको बताईन् ।

‘हामीले कोचले भने अनुसारनै खेल्यौँ । त्यसैले प्रतियोगितामा हामी सफल भयौँ,’ कप्तान निरुले भनिन्, ‘हाम्रो रणनीति सफल भयो ।’

कप्तान निरुका लागि पनि यो ठुलो सफलता हो । नेपाली टोलीको कप्तानी सम्हालेको पहिलो प्रतियोगितामै उनले राष्ट्रलाई ठुला सफलता दिलाइन । पहिलो कप्तानीमै उच्च प्रदर्शन गरेकोमा निरुलाई पनि गर्व छ ।

‘पहिलो पटक टोली समाल्ने अवसर प्राप्त गरे । सफल पनि भए । निकै खुसी छु,’ कप्तान निरुले भनिन् ।

छनोटमा कप्तान निरुले दुई गोल समेत गरेकी थिइन् । निरुले भारत र बंगलादेशविरुद्ध समान एक/ एक गोल गरेकी थिइन् ।

अब नेपालले आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा सहभागिता जनाउनेछन् । १० टिम रहने दोस्रो चरणको छनोटबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।