९ मंसिर २०८१, आईतवार
अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीले बार्सिलोनाका फरवार्ड लियोनल मेसीले अझै राष्ट्रिय टोलीबाट खेल्ने विश्वास लिएका छन् । बार्सिलोनाका ३१ वर्षे मेसीले विश्वकपपछि अर्जेन्टिनाबाट खेलेका छैनन् । शनिबार मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा पनि मेसीले खेल्ने सम्भावना न्युन छ । अर्को वर्ष हुने कोपा अमेरिकामा भने मेसी राष्ट्रिय टोलीमा फर्किने चर्चा छ ।
“मैले मेसीसँग यसबारे कुरा गरेको छैन । हामीले फुटबलका विषयमा कुरा गरेका छौं । तर केही महिनापछि हुने अन्य विषयमा केही कुरा भएको छैन,” अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक स्कालोनीले भने, “उनी राष्ट्रिय टोलीमा फर्किन्छन् भन्ने मेरो अनुमान र विश्वास हो ।”
अर्जेन्टिनाले यसबीचमा मेक्सिकोविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुबै खेलका लागि स्कालोनीको टोली टुंगो लागिसके पनि टोटेनह्यामका जुवान फोयथले खेल्ने नखेल्नेबारेमात्र आशंका छ । प्रशक्षकका रुपमा स्कालोनीको यो पाँचौं खेल हो । ग्वाटेमालालाई ३–० तथा इराकमाथि ४–० को नतिजा निकालेको अर्जेन्टिनाले कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो । पछिल्लो खेलमा ब्राजिलसँग १–० ले पराजित भएको थियो ।
ब्राजिलविरुद्धको खेलपछि स्कालोनीले मेसीपछि पनि टिम राम्रो बन्ने विश्वास लिएका छन् । “ब्रजिलविरुद्धको खेलअघि सबैले नतिजा महत्वपूर्ण हुने बताएका थिए । तर मेरो दिमागमा अर्के कुरा खेलिरहेको थियो,” लन्डनको स्थानिय पत्रिका इभिनिङ स्ट्यान्डर्डसँगको कुराकानीमा स्कालोनीले भने, “यी खेलाडीहरुले आफुलाई प्रमाणित गरेका छन् । सबै ६ खेल सकिएपछि कुन खेलाडी छान्ने भन्ने थाहा हुन्छ । कसैले यी खेलाडीलाई कमजोर भन्छ भने तिनीहरु गलत छन् । यी खेलाडीले राष्ट्रिय टोलीका लागि धेरै गरेका छन् ।” एजेन्सी ।