महिला विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत समूह विजेता

होमल्याण्ड खबर

२०७५ मंसिर २ गते, आईतवार १०:१० मा प्रकाशित

भारत समूह विजेता बन्दै आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियालाई ४८ रनले हराएर भारत समूह विजेता बनेको हो ।

ग्युएनामा भारतले दिएको १६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ४ बलमा अलआउट हुँदै ११९ रनमा समेटियो ।

अष्ट्रेलियाका एलेक्सजेन्ड्रा पेरीले अविजित ३९ तथा एस्लिघ गार्डनरले ३० रन जोडिन । अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतकी अनुजा पाटिलले ३ तथा दिप्ती शर्मा, राधा यादव र पुनम यादवले २/२ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन जोडेको थियो ।  भारतका लागि स्मृति मन्धनाले ८३ रनको अर्धशतकीय इनिङस खेल्दा कप्तान हर्मानप्रित कौरले ४३ रन जोडिन । अष्ट्रेलियाकी  एलेक्सजेन्ड्रा पेरीले ३ विकेट लिईन् ।

अष्ट्रेलिया माथिको जितसंगै समूह ‘बि’ को भारतले ४ खेलमा ४ जितसहित ८ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

भारतले अब समूह ‘ए’ को उपविजेता र अष्ट्रेलियाले विजेतासंग खेल्नेछ । समूह ‘ए’ वेष्ट इण्डिज र इंग्ल्यान्डबीच समूह विजेता र उपविजेताका लागि प्रतिस्पर्धा हुनेछ । एजेन्सी ।