१६ औं हस्तकला व्यापार मेलाको चौथो दिनमा निकै घुइँचो

होमल्याण्ड खबर

२०७५ मंसिर २ गते, आईतवार १३:११ मा प्रकाशित

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्वारा कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिताको चौथोदिन सम्म आगन्तुकहरूको निकै घुइँचो छ ।
मेलामा शनिबारसम्म करिब ७५ हजारले अवलोकन कर्ताले मेलाको अवलोकन गरेकोअनुमान छ । मेलामा स्टलमा भएको प्रत्यक्ष बिक्रीको आधारमा करिब १.५ करोड बराबरको आर्थिक कारोबार भइसकेको अनुमान गरिएको छ ।

मेलामा ५ वटा पेभेलियनसहित १७२ वटा स्टलहरू रहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट बंगलादेश, भुटान, पाकिस्तान र चीनका प्रदर्शनकर्ताहरूले यस मेलामा भाग लिइरहेका छन् । विभिन्न जातजाति तथा समुदायमा विद्यमान हस्तकला तथा संस्कृति बीच रहको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले महासंघद्वारा एउटा भिन्नै प्रस्तुतिको रूपमा अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनको गरिएको छ । यस प्रसंगमा आज खासगरी काठमाडौं उपत्यकाको प्रतिनिधित्वको हिसावले नेवारी संस्कृतिको पहिचान झल्किने लाखे नृत्य र च¥या नृत्य प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।

मेलाको चौथो दिन शनिबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रबैंकका पूर्वगर्भनरहरू डा. तिलक रावल र दीपेन्द्रबहादुर क्षेत्री, बाल ज्ञानी गुरु आदित्य दाहाल, अमेरिकी दूताबासका प्रतिनिधिहरू र श्रीलंका राजदूतावासका प्रथम सचिव दिनेसा आदिलगायतका विशिष्ट व्यक्तिहरूले मेलाको अवलोकन गर्ने कार्यक्रम छ । हस्तकला प्रतिआगन्तुकहरूको निकै अभिरुचि देखिएको छ ।