स्पेनद्वारा बोस्निया पराजित, सिल्भाको विदाई

होमल्याण्ड खबर

२०७५ मंसिर ३ गते, सोमबार १०:५५ मा प्रकाशित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले बोस्निया र हर्जगोविनालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा स्पेनले बोस्निया र हर्जगोविनालाई १ – ० ले पराजित गरेको हो ।
स्पेनको जितमा ब्रेइस मेन्डिजले निर्णयक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७८ औं मिनेटमा सेल्टा भिगोका मिडफिल्डर मेन्डिजले गोल गर्दै स्पेनलाई जित दिलाएका हुन् । त्यसअघि खेलमा थुप्रै गोल गर्ने अवसर पाएपनि स्पेनले सदुपयोग गर्न सकेनन् ।

बोस्निया र हर्जगोविनाविरुद्धको खेलमा स्पेनले सन्यास घोषणा गरेका प्ले मेकर डेभिड सिल्भालाई सम्मान गरिएको थियो । खेलअघि स्पेनले विशेष सम्मानसहित सिल्भालाई विदा गरेको थियो । उनलाई १२५ क्यापको स्पेनिस जर्सी प्रदान गरिएको थियो ।

म्यानचेस्टर सिटीका प्ले मेकर सिल्भाले स्पेनबाट १२५ खेल खेल्दै ३५ गोल गरेका छन् । उनले गत अगष्टमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । उनले क्लब फुटबल भने खेल्नेछन् । एजेन्सी ।