१३ मंसिर २०८१, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्वन्द्वमा फसेका नीतिहरूलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माणको लागि आवश्यक नीति बनाउन निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार संविधानको परिधिभित्र रहेर आवश्यक नीति निर्माण गर्न प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई निर्देशन दिएका छन् । “समाजवादउन्मुख अर्थतन्त्र निर्माण हुने गरी आवश्यक नीति पुनरावलोकन गर्न पनि प्रधानमन्त्रीले प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ,” खतिवडाले भने । प्रधानमन्त्रीले प्रतिष्ठानले ल्याएको अनुसन्धानको विषयलाई सरकारले आवश्यकताअनुसार प्रयोग गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको अर्थमन्त्रीले जनाए ।
प्रधानमन्त्रीले प्रतिष्ठानको काममा सरकारले हस्तक्षेप नगर्ने भन्दै विद्यमान नीति पुनरावलोकन गर्न समाजशास्त्री डा. चैतन्य मिश्रको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरू रहेको प्रतिष्ठानका सदस्यहरूलाई आग्रह पनि गरे । उक्त अवसरमा प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरेअनुसार विकास निर्माणको कामले गति लिन नसकेको गुनासो गर्दै विकास निर्माणको काम अघि बढ्न नसक्नुमा विद्यमान नीति मूल कारण रहेको औंल्याए ।
प्रधानमन्त्री ओलीले सरकारको ‘थिंक ट्यांक’को रुपमा सिर्जना गरेको प्रतिष्ठानमा मिश्रको नेतृत्वमा डा. मीना आचार्य, डा सुरेन्द्र लाल, डा राजेन्द्रध्वज जोशी र गणेशमान गुरुङ सदस्य रहेका छन् । मन्त्रालयका सचिव र केही मन्त्रीसहित आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरूसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न आग्रह गरे ।