१ मंसिर २०८१, शनिबार
वैशाख १५ को उपनिर्वाचनबाट प्रतिनिधि सभामा आएका नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले मंगलबार संसदमा पहिलोपटक सम्बोधन गरेका छन् ।
मंगलबार बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्नका लागि ५ मिनेटको समय पाएका सुहाङ बुवा सुवासलाई सम्झेर भावुक बनेका थिए ।
‘भदौ २६ गतेको अप्रिय घटनापश्चात वैशाख १५ गतेको उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि म पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको छु । मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ । बुवालाई सम्झेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ सुहाङले भने ।
बुवा सुवास लोकतन्त्रका अटल हिमायती रहेको र एकताबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित रहेको उनले स्मरण गरे ।
‘सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको सह–अस्तित्व एवं आपसी एकताले र मेलमिलापले राष्ट्रिय एकता हुन्छ भन्ने उहाँको अटुट विश्वास थियो,’ सुहाङले भने ।
सम्बोधनका क्रममा सुहाङले शहीद रत्नकुमार बान्तवालगायत इलामका जनताप्रति धन्यवाद व्यक्त गरेका थिए । पूर्वसभामुख समेत रहेका पिता सुवास नेम्वाङको निधनपछि सुहाङ सांसद बनेका हुन् ।