वातावरण संरक्षणको महत्त्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

होमल्याण्ड खबर

२०८१ जेष्ठ २३ गते, बुधबार १३:५६ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए ।

विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा वातावरण संरक्षणमा कोशी प्रदेश सचेत रहेको उल्लेख छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका कामलाई प्रभावकारी रुपमा अघि बढाइरहेको भन्दै उनले वन ऐन, वातावरण ऐन तथा नियमावालीहरु निर्माण भई कार्यान्वयनमा आइ सकेको समेत जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम, अनुसन्धान र जलवायु अनुकूलनमा आधारित विकासजस्ता योजना तथा कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । मुख्यमन्त्री कार्कीको सन्देशमा नेपालले पछिल्लो समय मरुभूमिकरणको समेत सामना गर्नु परिरहेको छ भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

विश्व वातावरण दिवसले वातावरण संरक्षण र संवधनमा थप जिम्मेवार बनाउने विश्वास उनले व्यक्त गरेका छन् । वातावरण संरक्षण, वनजंगल व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदेश सरकारले योजना र कार्यक्रमहरू बनाएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘ वातावरण संरक्षणको महत्त्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

हरेक नागरिकलाई वातावरणीय समस्याप्रति चासो विकसित गर्न र समाधान खोज्न उनले आह्वान गरेका छन् । ,‘ एक जना व्यक्तिको वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठुलो योगदान पुर्याउन सक्छ,’ सन्देशमा उल्लेख छ । कोशी प्रदेश सरकारको वातावरणप्रतिको चिन्ता र प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । वातावरण दिवसले नागरिकहरूलाई पनि यस विषयमा सक्रिय हुन प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको आग्रह छ । यो वर्ष हाम्रो भूमि हाम्रो भबिश्य भन्ने नाराका साथ दिवस मनाइँदै छ ।