संसदबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित

होमल्याण्ड खबर

२०८१ जेष्ठ २४ गते, बिहीबार १५:५९ मा प्रकाशित

सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् ।

विधेयक समितिमिबाट २०८० चैत २६ मा प्रतिवेदनसहित पारित भएको थियो । समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभन्नि ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाइ गर्ने गरी पारित गरेको थियो ।

समितिले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र केन्द्रबाट मात्रै छपाइ गर्ने गरी उक्त प्रतिवेदनलाई टुंगो लगाएर फुल हाउसमा पठाएको थियो ।

यो विधेयक २०७८ साउन २४ मा राष्ट्रियसभामा दर्ता भएको थियो । सभाले २०७९ चैत २१ मा पास गरेर प्रतिनिधिसभामा पठाएको थियो । राष्ट्रियसभाले पारित गर्दा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट मात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरेको थियो ।