मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ

होमल्याण्ड खबर

२०८१ जेष्ठ २५ गते, शुक्रबार १३:२३ मा प्रकाशित

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ । सप्तरी क्षेत्र नम्वर २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् ।

लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । नवनियुक्त मुख्यमन्त्री सतिशका बुवा शेखर अग्रभागमा दायाँबाट पहिलो । मुख्यमन्त्री बन्न सफल सिंह पनि जनमतमा प्रवेश गर्नुअघि तत्कालीन राजपा (अहिलेको लोसपा) मै सक्रिय थिए ।

सोही पार्टीबाट ०७४ मा तिलाठी गोइलाठी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ मा पुनः गाउँपालिकामा चुनावी मैदानमा उत्रे तर पराजित भए । त्यसपछि उनले जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्यमा चुनाव लडेपछि निर्वाचित भए । दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरेर अध्यक्ष डा. सीके राउतले उनलाई अघि सारेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ ।