१ मंसिर २०८१, शनिबार
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जति हल्ला गरे पनि राजतन्त्र फर्काउन नसक्ने जिकिर गरेको छ । जसपा नेपालको महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीति प्रतिवेदनमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उल्लेख गरेका हुन् ।
‘महेन्द्रीय राष्ट्रवादको पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस–कम्युनिस्टको अक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ र राजतन्त्र फर्किने हल्ला पनि गर्दछ’, प्रतिवेदनमा भनिएको छ, ‘नेपाली जनताको लामो सङ्घर्ष र ठुलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको छ, जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन ।’
तथापि राप्रपा पार्टीले छर्ने आवश्यक भ्रमलाई चिर्न जसपा नेपाल चनाखो हुनुपर्ने प्रतिवेदनमा जोड दिइएको छ । जसपा नेपालले राप्रपा पुरातन सम्वर्द्धनवादी धारको प्रतिनिधि पार्टी भएको उल्लेख गरेको छ ।
राप्रपाले आफूलाई राजावादी, हिन्दु राष्ट्रवादी पार्टी भन्न रूचाउने र सो पार्टी पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता पञ्चहरूको राजनीतिक रक्षाकवचका रूपमा उदय भएको उल्लेख गरेको छ ।