अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ : सांसद विश्वप्रकाश शर्मा

होमल्याण्ड खबर

२०८१ जेष्ठ ३१ गते, बिहीबार १३:१२ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री समेत रहेका शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका हुन् ।

‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढङ्गले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ,’ उनले भने । त्यस्तै उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शर्माले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे । जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरूले औंल्याएका जोखिमपूर्ण बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने उनको सुझाव थियो ।