निष्क्रिय कार्यकर्तालाई कांग्रेसमा फर्किन शेखरको आग्रह

होमल्याण्ड खबर

२०८१ असार १ गते, शुक्रबार १७:२८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेस प्रदेशमा पार्टी छाडेका फर्किन आग्रह गरेका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले पार्टीका निष्क्रिय कार्यकर्तालाई कांग्रेसमा फर्किन आग्रह गरेका हुन् ।

‘रुष्ट भएर बाहिर बस्नु भएको छ या निष्क्रिय हुनु भएको छ या अन्य पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई म विनम्र आग्रह गर्न चाहन्छु– नेपाली कांग्रेसमा फर्किनुहोस्,’ उनले भने, ‘नेपाली कांग्रेसलाई बलियो बनाउनुहोस् । लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेसको हात मजबुद बनाएर अगाडि बढ्नुपर्छ ।’

कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा उनको भनाइ थियो ।

अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो । ‘यो चुनाव प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन । बहुमत नआउँदा ३२ सिट ल्याएको माओवादीको अहिले सरकार छ ।

त्यसमा एमालेसहितका दलहरू सहभागी छन् । देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक छ,’ उनले भने । नेता कोइराला शुक्रबार र शनिबार धनुषामा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।