जसपा नेपाल लुम्बिनी प्रदेशसभामा अबदेखि प्रतिपक्षमा बस्ने

होमल्याण्ड खबर

२०८१ असार १० गते, आईतवार १२:०८ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपाल आजदेखि प्रदेशसभा बैठकमा प्रतिपक्षमा रहने भएको छ ।

पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी छिन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको ले थियो ।

सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका दुईजना प्रदेश सभा सदस्य भण्डारीलाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषि मन्त्री रहेका छन् । उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ ।