निलम्बित मुख्यसचिव अर्यालको नियुक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : राप्रपा

होमल्याण्ड खबर

२०८१ असार १४ गते, बिहीबार १४:५६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा जवाफ दिनुपर्ने माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठक बोल्दै उनले अवकाशको तीनदिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? भन्दै प्रश्न गरेकी हुन् ।

उनले भनिन्, ‘वर्तमान प्रधानमन्त्री नेतृत्वकै सरकारले २०८० असोज १४ गतेसम्म पदावधि भएका तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई हुँदै नभएको दरबन्दी निर्माण गरेर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीसरहको सुविधा पाउनेगरी २०८० असार २ गतेबाट अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई २०८० जेठ ३२ गते मुख्यसचिव किन नियुक्त गरियो ? तीन दिनमा राज्यलाई के नोक्सान हुनेवाला थियो र के फाइदा भयो ?’

उनले यो नियुक्ति अस्वाभाविक, अनैतिक र शंकास्पद रहेको भन्दै बताउँदै भनिन्, ‘सरकारले यतिधेरै महत्व दिएका तीनै मुख्यसचिव अहिले भ्रष्टाचार मुद्दामा निलम्बित छन् । अवकाश पाउन तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’