होमल्याण्ड खबर
२०८१ असार २६ गते, मंगलवार १२:४६ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएको छ ।
मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार पार्टीको हितविपरीत काम गरेको, स्पष्टीकरणमा विधि र प्रक्रिया नपुर्याएको भन्दै उनलाई पदमुक्त गरेको हो । तर, उनलाई साधारण सदस्यबाट भने हटाइएको छैन ।
यसअघि आन्तरिक प्रतिवेदनका विषय मिडियामा चुहाएर पार्टीलाई बदनाम गरेको भन्दै अनुशासन समितिले साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो । अनुशासन समितिले ढकालबाट पार्टीको हितविपरीत काम भएको भन्दै साधारण सदस्य पनि नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।
ढकालले पार्टी निरन्तर कमजोर हुँदै गएको, सभापतिको कार्यशैली उचित नभएको भन्दै ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका थिए ।
प्रतिवेदनको विषयमा केन्द्रीय समिति बैठकमा लाइभ गर्नुपर्ने माग अडान राखेपछि रास्वपाले एक हप्ताअघि उनलाई सात दिन पदबाट निलम्बन गरेको थियो ।