एमालेको सचिवालय बैठक जारी

होमल्याण्ड खबर

२०८१ असार २७ गते, बुधबार १३:०३ मा प्रकाशित

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। नेपाली कांग्रेससँगको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्न मापदण्डबारे छलफल गर्न पार्टी कार्यालयमा बैठक बसेको हो।

असार २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसपश्चात नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने नेताहरुले जनाएका छन् । त्यसअघि कांग्रेस र एमालेका नेताहरूबीच मन्त्रालय भागबण्डा र सैद्धान्तिक सहमति गरेर अगाडि बढ्ने तयारी छ। एमालेबाट यस पटक अनुभवी र नयाँ सांसदलाई प्राथमिकता दिने नेताहरुले बताउँदै आएका छन्।

एमाले र कांग्रेसको समझदारीअनुसार पहिलो दुई वर्ष ओलीले सरकारको नेतृत्व गरेपछि त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्।

आजको बैठकले नेताहरूको कार्यविभाजन सहितका विषयमा पनि छलफल हुने बताइएको छ। बैठकले यस अगाडिको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ।  अध्यक्ष ओलीले आज संगठन विभागको बैठकमा पनि पार्टीको आन्तरिक विषयमा छलफल गरेका थिए।