सीता दाहालको स्मृति दिवसका अवसरमा बालुवाटारमा ‘श्रद्धाञ्जली’ कार्यक्रम

होमल्याण्ड खबर

२०८१ असार २८ गते, बिहीबार १२:२६ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको प्रथम स्मृति दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

बिहीवार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले सीताका तस्वीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवालगायत सहभागी थिए ।

सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन पनि गरे ।

माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता विसं २०२८ देखि कम्युनिस्ट आन्दोलनमा लागेकी थिइन् । उनी २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् ।