११ मंसिर २०८१, मंगलवार
लगानी बोर्ड बैठकले आगामी मार्चको अन्तिम साता गर्न लागेको लगानी सम्मेलनअघि नै लगानी आकर्षक गर्न आवश्यक नीति तथा कानुन निर्माण तथा संशोधनको काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीकोको अध्यक्षतामा आइतबार बसेको बैठकले सम्मेलनअघि नै आवश्यक नीति तथा कानुन निर्माण गर्न सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
बोर्डले सम्मेलनलाई थप सहभागितामूलक र प्रभावकारी बनाउन विदेशस्थित नेपाली नियोगहरू समेत परिचालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।मार्च २०१९ को अन्तिम साता हुने सम्मेलन आयोजना गर्न अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । दुई वर्षअघि पनि लगानी बोर्ड र उधोग मन्त्रालयको सहकार्यमा लगानी सम्मेलन भएको थियो भने सम्मेलनमा १४ खर्बको प्रतिवद्धता आएको थियो । तर, अधिकांश लगानी भने हालसम्म प्रतिबद्धतामै सीमित छ । बोर्डले आगामी सम्मेलनमा भने परियोजनाहरूको प्रारम्भिक अध्ययन भएका आयोजनाहरू प्रस्तुत गर्ने तथा सम्मेलनकै क्रममा इच्छुक लगानीकर्तासँग प्रारम्भिक सम्झौता गर्नेगरी प्रक्रिया अघि बढाएको जनाएको छ ।
सम्मेलनमा ऊर्जा, पूर्वाधार, कृषि, पर्यटनका साथै हालै बोर्डले प्रदेशहरूसँग गरेको छलफलको आधारमा तय भएका उत्कृष्ट परियोजनाहरू प्रस्तुत गर्ने भएको छ । बैठकले बोर्डका कामकारवाहीलाई थप प्रभावकारी बनाउन ‘लगानी बोर्ड ऐन २०६८’ अनुसार अर्थमन्त्री एवं बोर्ड उपाध्यक्ष खतिवडाको संयोजकत्वमा लगानी परामर्श समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले ग्रीड कनेक्टेड सोलार फोटो भोल्टाइक प्रोजेक्ट प्लस ब्याट्री स्टोरेज आयोजनालाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन सौर्य ऊर्जा उत्पादनका लागि सर्भेक्षण अनुमति दिने निर्णय गरेको छ ।
बोर्डका प्रवक्ता उत्तम वाग्लेका अनुसार डोल्मा फण्ड म्यानेजमेन्टलाई मुस्ताङको लोमान्थाङमा १ सय ५० मेगावाट र रसुवाको चिलिमेमा १ सय २५ मेगावाट क्षमताकोे उत्पादनका लागि अनुमति दिइएको हो । बैठकमा प्रधानमन्त्री ओलीले लगानीको वातावरण सुधार्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै ठूला पूर्वाधार तथा अन्य आयोजनाको कार्यान्वयन समयमै सम्पन्न गर्न सरकारको सम्बद्ध निकायलाई गम्भीर भएर अघि बढ्न निर्देशन दिएका थिए । बैठकमा बोर्डले अघि बढाएका आयोजनाबारे प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका थिए ।