१ मंसिर २०८१, शनिबार
नेकपा माओवादी केन्द्रका उपमहासचिव सांसद शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको विद्युतको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनाएको बताएका छन् । मंगलबारकाे प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले डेडिकेटेड र ट्र्रंकलाइन विवादको मुख्य विषय उद्योगी व्यवसायीले नतिरेको विद्युत महसुल उठाउने कि नउठाउने भन्ने रहेको बताए ।
सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै उनले सचेत गराए।
‘डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ। त्यसको निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरू पनि छ। सरकार त्यो बाटो हिँड्नुपर्यो। कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने। सरकार गलत बाटो हिँड्दैछ,’ उनले भने, ‘सभामुखमार्फत सचेत गराउन चाहन्छु। नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरुमा रुचि देखाएर आफूलाई विवादित नबनाउन आग्रह गर्न चाहन्छु। ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ।’