९ मंसिर २०८१, आईतवार
नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला नाइट्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा पराजय व्यहोरेको छ ।
लिगको दोस्रो चरण अन्तर्गत सोमबार भएको खेलमा केरला पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको हो ।
सारजाहमा पन्जाबीले दिएको १०८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन जोड्दा अलआउट भयो ।केरलाका क्रिस गेलले ३५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । सन्दीप १ रनमा अविजित रहे ।
पन्जाबीका हसन खानले ४ तथा प्रभिन कुमारले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबीले पुरै १० ओभरमा ५ विकेट गुमाएर १०७ रन जोडेको थियो । पन्जाबीका उमार अकमलले ३० तथा क्रिस जोर्डनले अविजित २४ रन जोडे ।
पन्जाबीविरुद्ध नेपालका लेग स्पिनर सन्दीप विकेट बिहिन बने । पन्जाबीविरुद्ध सन्दीप निकै महंगा साबित भए । अघिल्ला तीन खेलमा ६ विकेट लिएका सन्दीपले चौथो खेलमा जादु देखाउन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिए ।
यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए ।
दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए ।
लिगमा केरलाको यो दोस्रो हार हो । यसअघि केरला सिन्धिजसंग पराजित भएको थियो ।