माधवलाई प्रचण्डले भने : ‘पार्टी एकता गरौँ, दलको नेता तपाईं बन्नुस्

होमल्याण्ड खबर

२०८१ श्रावण २९ गते, मंगलवार १५:३७ मा प्रकाशित

पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।

त्यसका लागि प्रचण्डले माओवादीबाटै छुट्टिएको विप्लव नेतृत्वको नेकपा र एमालेबाट विद्रोह गरेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास गरिरहेको स्रोत बताउँछ । अध्यक्ष प्रचण्डले सोमबारमात्र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गोप्य भेटवार्ता गरेर पार्टी एकताको प्रस्ताव गरेको माधव नेपालनिकट स्रोतले बताएको छ ।

‘हाम्रो अध्यक्ष र माओवादी अध्यक्षबिचको भेटवार्तामा प्रचण्डले पार्टी एकताको प्रस्ताव गरेको बुझिएको छ’, स्रोतले प्रचण्डको भनाई उद्धृत गर्दै भन्यो, ‘विप्लवसहितको एकता गरौँ, त्यसपछि तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो हुन्छ ।’ त्यस क्रममा प्रचण्डले कांग्रेस–एमालेको गठबनधन धेरै नटिक्ने भन्दै परिस्थिति बदलिन सक्ने भएकाले सोही अनुसार अघि बढ्न जोडबल गरेका छन् ।

कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले यसअघि पनि चुनाव हारेको अवस्थामा समेत आफ्नै पहलमा जिताएर प्रधानमन्त्री बनाएको विगत नेपाललाई स्मरण गराएका छन् । ‘पार्टी एकता गरौँ, दलको नेता तपाईं बन्नुस्, म पार्टी अध्यक्ष मात्रै हुन्छु र २०८४ अघि प्रधानमन्त्री बन्ने अवस्था आयो भने तपाईं नै प्रधानमन्त्री हुनुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

जवाफमा अध्यक्ष नेपालले आफू हतारिएर पार्टी एकता गर्ने पक्षमा नरहेको भन्दै मोर्चामार्फत सहकार्य बढाउँदै लैजान सकिने जवाफ दिएका छन् । ‘अहिले हतारमा पार्टी एकता गर्दा दिगो नहुन सक्छ । बरु मोर्चालाई सशक्त बनाएर अघि बढ्दै जाँदा भविष्यमा परिस्थिति हेरेर निर्णय गर्न सकिन्छ’, नेता नेपालले प्रचण्डलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओली नेतृत्वको सरकार कसरी अघि बढ्छ, त्यो पनि हेर्दै जानुपर्छ ।’