त्रिविमा सरकारबाट संरक्षितहरूले गुण्डागर्दी मच्चाएको सात विद्यार्थी संगठनको आरोप

होमल्याण्ड खबर

२०८१ भाद्र ५ गते, बुधबार १५:४३ मा प्रकाशित

विभिन्न सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित आतंक र गुन्डागर्दी भएको आरोप लगाएको छन्। अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीसहित सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएकोप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजीनामा दिएको घटना यसको पछिल्लो उदाहरण हो । सत्ता समर्थित पार्टीका भ्रातृ संस्थाका सरकार र प्रशासन संरक्षित यस्ता कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरूले नै ज्यान जोगाउन कठिन हुने अवस्था सिर्जना हुनु र विश्वविद्यालयमा आतंकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको छ ।’

देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेको छ। त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध शुक्रवार बिहान ११ बजे त्रिवि कीर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।