३० कार्तिक २०८१, शुक्रबार
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो । मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गर्दै टिकटक खोल्ने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेका छन् ।
प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए । टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र समेत लेखेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत वर्षको कातिक २७ गते नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाइरहेका छन् ।