कांग्रेस बैठक : महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ अपरिपक्व भएको टिप्पणी

होमल्याण्ड खबर

२०८१ भाद्र ७ गते, शुक्रबार १६:१५ मा प्रकाशित

 नेपाली कांग्रेसको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको चर्को आलोचना भएको छ । सानेपामा जारी केन्द्रीय समितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ अपरिपक्व भएको टिप्पणी गरे ।

उनले शर्माको प्रस्तावको आलोचना गर्दै जनताले चाहेसम्म जो जति पटक पनि चुनाव लड्न र जिम्मेवारीमा पुग्नसक्ने तर्क गरे ।महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्नुपर्छ । कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ ।’

प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

संस्थापन पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्नेगरी प्रस्ताव ल्याइएको भनेर चर्को विरोध जनाइरहेका छन् ।