इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरिएको छैन- एनसेल

होमल्याण्ड खबर

२०८१ आश्विन ४ गते, शुक्रबार १६:३० मा प्रकाशित

एनसेलले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको बताएको छ ।

एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिदसम्बन्धी प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै जारी गरेको हो ।

एनसेलले उक्त शेयर खरिदिसम्बन्धी समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।

‘एनसेलले ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेतकम्पनी प्रतिबद्ध रहेको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ,ु विज्ञप्तिमा उल्लेख छ ।​

साथै एनसेलले कम्पनीको आधिकारिक धारणा बुझेर मात्रै समाचार सम्प्रेषण गर्न पनि आग्रह गरेको छ ।

‘एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरू माझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ । विकसित घटनाक्रमअनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने नै छौं । हाम्रा निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धित हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरूलाई अनुरोध गर्दछौं ।’