ढुक्क भएर मतदान गर्नुस् , सुरक्षाको बलियो प्रबन्ध छ,

होमल्याण्ड खबर

२०७४ मंसिर २० गते, बुधबार ०५:२५ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सी बिहीबार (२१गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभानिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । सरकारले सुरक्षाको समेत बलियो प्रबन्ध गरेको भन्दै उनले ढुक्क भएर मतदान गर्न आग्रह पनि गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ ।

उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद व्यक्त गरे । निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको उनले बताए उनले भने, ‘आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए समाधान गर्न हामी तयारी अवस्थामा छौं ।

आयोगका पदाधिकारीहरुले निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने पन उनले बताए । मतदान सकिए लगत्तै मतपेटिकाहरु केन्द्रमा पुर्‍याउन कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

त्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरी आयोगले निर्देशन दिएको उनले बताए । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यहीअनुसार हामीले निर्देशन जारी  गरिसकेका छौं’ यादवले भने ।उनका अनुसार मतगणनामा कुनै अप्रिय घट्नान होस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्न निर्देशन दिइएको छ ।