एक दशकपछि पुनः जापान उडान गर्ने निगम अन्तिम तयारीमा

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार ११:१० मा प्रकाशित

नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उडान गर्ने अन्तिम तयारीमा छ । जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिए पनि निगमले नयाँ जहाज खरिदसँगै सीधा उडान गर्न लागेको हो । निगमले हालै खरिद गरेका एयरबस–३३० वाइडबडी जहाजबाट जापान उडान गर्नेछ ।

सन् १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको निगमले आकर्षक गन्तव्य भए पनि जहाज अभावको कारण देखाउँदै जापान उडान रोकेको थियो । यसअघि निगमले बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत जापानको ओशाका उडान गर्दै आएको थियो । निगमले माघ (फेब्रुवरी)देखि सातामा तीन दिन काठमाडौं–ओसाका उडान गर्नेछ । यससम्बन्धमा छलफल गर्न जापानी टोलीका उच्च पदाधिकारीहरू आइतबार नेपाल आएका छन् । जसमा निगमका नयाँ वाइडबडी जहाज ओसाका उडानमा सहज बनाउने गरी वार्ता भएको निगमले जनाएको छ ।

सोमबार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुयल मानेन ताउले नेतृत्व गरेको टोलीबीच वार्ता भएको छ । जापानी टोलीले पुनः उडान गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएको प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । “विगतमा जहाज अभाव भएपछि रोकिएको र अब छिट्टै उडान गर्नका लागि गृहकार्य भइरहेको छ,” प्रवक्ता सिग्दलले भने । नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) गत असारमा पुनारावलोकन भएको थियो । हवाई सम्झौतासँगै नेपाल र जापानबीच अब सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति छ । यसअघि सातामा २ वटामात्रै उडान गर्न पाउने सम्झौता थियो । नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सहमतिसमेत छ । सोही अनुसार निगमले जापानको नारिता विमानस्थलमा समेत उडान गर्नेगरी तयारी भएको निगमले जनाएको छ ।

जापानमा नेपाली विद्यार्थी तथा रोजगारी भिसामा बर्षेनि हजारांै जाने गरेका छन् । हाल १ लाखभन्दा बढी नेपाली जापानमा रहेको अनुमान रहेको छ भने जापानसँग सीधा हवाई उडान नहुँदा नेपाल आउने जापानी पर्यटकको संख्यासमेत बढ्न सकेको छैन । नेपालमा जापानबाट सीधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन बर्से्नि घट्दै गएका छन् । सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार ४ सय १२ पर्यटक नेपाल भित्रिएकोमा २०१७ मा पनि २७ हजार ३ सय २६ जापानी पर्यटक नेपाल भ्रमणमा आएका छन् । १५ वर्षअघि नेपाल आउने पर्यटकमध्ये जापानी पर्यटको हिस्सा ८.१ प्रतिशत रहेकोमा २०१७ सम्म आइपुग्दा उक्त हिस्सा घटेर २.८ प्रतिशतमा सीमित छ । निगमसँग हाल दुई थान वाइडबडी, दुई थान एयरबस ३२० सिरिजका न्यारोबडी जहाज र एक थान बोइङ ७५७ सिरिजको न्यारेबडी जहाजमार्फत ९ अन्तर्र्रािष्ट्रय गन्तव्यमा उडान गरिरहेको छ ।