बालोन डी’ओर अवार्ड घोषणा समारोहमा मेस्सी र रोनाल्डो आएनन्

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार ११:४७ मा प्रकाशित

एजेन्सी । विश्व फुटबलकै प्रतिष्ठित अवार्ड बालोन डी’ओरको विजेता घोषणा समारोहमा पाँच पटकका विजेताद्वय क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी अनुपस्थित भएका छन् ।

फ्रान्सको पेरिसमा सोमबार राति आयोजित अवार्ड घोषणा कार्यक्रममा रोनाल्डो र मेस्सी नआएका हुन् । यस पटकको अवार्ड आफुहरुले नजित्ने थाहा पाएपछि रोनाल्डो र मेस्सी अवार्ड विजेता घोषणा समारोहमा अनुपस्थित भएका हुन् ।

यस पटकको अवार्ड क्रोएसिया तथा रियल मड्रिडका प्ले मेकर लुका मोड्रिचले जितेका छन् ।  मोड्रिचले रोनाल्डो र एन्टोनी ग्रीजम्यानलाई पछि पारेका थिए । मेस्सी भने पाँचौ स्थानमा रहे ।

पछिल्लो एक दशक भने यस अवार्डमा रोनाल्डो र मेस्सीले नै राज गर्दै आईरहेका थिए । सन् २००७ मा ब्राजिलियन काकाले जितेपछि यस अवार्ड पछिल्लो १० बर्षभित्र रोनाल्डो र मेस्सीले समान ५ \/५ पटक जितेका थिए । यस पटक भने मोड्रिचले रोनाल्डो र मेस्सीको अधिपत्यको अन्त्य गरेका छन् ।

आयोजकले दुवै खेलाडीलाई आमन्त्रण गरेपनि दुवैले बहिस्कार गरेका हुन् ।

मोड्रिचले पेरिसमा बालोन डी’ओर अवार्ड जितिरहदा रोनाल्डो र मेस्सी भने परिवारसंग समय बिताईरहेका थिए ।